सानो देश, सानो सोच र ठुलो सपना

सानो देश, सानो सोच र ठुलो सपना

मेरो देश कत्रो छ ? सानो मा सोच्ने गर्थे । बाले भन्नु हुन्थ्यो, हाम्रो देश सानो छ । त्यो बेला बाबा को कुरा मैले पत्याउथिन, घर वरिपरि कै भुगोल कति विसाल लाग्थ्यो मलाई । पर पर सम्म देखिने डाँडा काडा, अझ कहिले काँही गाडि चढेर बजार जादा त लाग्थ्यो देस कति ठुलो बाफ्रे ! सानो र ठूलो कसरी निर्धारण हुन्छ? तुलनाले, त्यो बेला मैले देखेको भुगोल नै सानो रैछ र त्यो सानो भुगोल मा‌ मैले मेरो देश ठूलो देखे । खासमा त्यो बेला मेरो छाति पनि बिसाल थियो,‌ स साना कुरा लाइ ठुलो देख्ने मन पनि विसाल थियो र विसाल मनले‌ देस विसाल देखि देख्यो ।

आज भुगोल धेरै देख्दै जादा, धेरै बुझ्दै जाँदा, बाबाले भनेको कुरामा विश्वास लाग्दैछ, देश सानो छ, नेपाल सानो छ । नेपाल सानो के मा छ? भुगोल मा? कि मेरो देश अरु कुरामा पनि सानो छ? देश सानो भयो भने के हुन्छ? सानो देश को मान्छे को सोच चाहिँ सानो हुन्छ कि हुँदैन ? सानो देश को सपना चाही कत्रो हुन्छ? सानो देश को अरु ‌के के सानो हुन्छ? यि सबै प्रस्न हरुको एउटै उत्तर ‌पक्कै पनि हुदैन, एउटै ऊत्तर खोजे प्रस्न को न्याय पनि नहोला । विश्व मा‌ कति साना देश हरु छन तर तिनिहरु कति शक्तिशाली छन, समृद्ध छन, हामिलाई ठुलो लाग्ने सपनाहरु उनिहरुको विपना भएको छ । अझ हामिले देख्दै नदेखेका सपनाहरु उनिहरुले पुरा गरिरहेका छन् । यो सबै कुरा ले‌ एऊटा उत्तर चाहिँ भेटिन्छ । भुगोल सानो हुनु ले अरु कुरामा खास असर राख्दैन या भनौ सानो भुगोलमा‌ धेरै कुरा अटाउँछन् । सानो भुगोलमा‌ पनि धेरै सम्भावना हरु हुन्छन ।

हाम्रो देश किन पछाडि पर्यो ? सानो भुगोल ले पक्कै हैन, प्राकृतिक रूपले त झनै हैन होला । यो देशमा‌ के छैन भन्दा सबथोक छ , छैन चाहिँ के ? देशको सपना छैन कि ? अहं , हामीसँग अनगिन्ती सपनाहरु छन ।‌ अझ हाम्रो देशको नेतृत्व गरिरहेकाहरु सँग त सपनाको सागरनै छ, उनिहरु हरेक दिन सपनाको खेति गर्छन्, हरेक दिन त्यहि सपना बाड्छन र हामी त्यही सपनाहरु मा रमाइरहेका हुन्छौ , मात्र सपनाहरु हरुमा। सबै लाई थाहा छ सपना राति देखिन्छ या भनौ सपना निदाएको बेला देखिन्छ। हामी दिउँसै सपनाहरु देख्छौ । के हामी दिऊसै निदाएका छौ त ? यो एउटा तितो सत्य हो, तर हामी साच्चिकै दिउँसै निदाएका छौ । म सानो मा राति देखेको सपना आमालाई बिहान सुनाउथे, र दिनभर त्यहि सपना पूरा गर्ने बाटो मा हिड्थे । तर यो देशमा बिहान मात्र सपना सुनाइन्न । हरेक समय, हरेक पल हामी सपना सुन्छौ । रेलको सपना, जहाजको सपना, देश बनेको सपना, गरिब ले ढुक्क संग एकगाँस खान पाएको सपना, मैले पैसा नतिरीकन पानी खाएको सपना, निशुल्क सास फेरेको सपना र समग्र मा हाम्रो नेताहरुले रट्ने सुखि नेपाली, समृद्द नेपाल को सपना!

सपना किन नदेख्ने ? कवि भुपिन ले भनेका थिए, जुन देश सँग सपना हुदैन त्यो देश सबैभन्दा बढि दरिद्र हुन्छ । के हामी दरिद्र नहुन कै लागि सपना देखि रहेका छौ त ? के हामि सपना मात्र बाँडेर झन दरिद्र भएका छौ ? हामीले सपना मात्र देख्ने र सपना पुरा गर्न केहि नगर्ने हो भने सपना सपना नैं रहन्छ। अझ मलाई लाग्छ यिनै सपना देख्दा देख्दै हाम्रो जवानी सकिन्छ अनि यिनै सपना हामी हाम्रो सन्तति हरुलाई बाड्छौ, किनभने‌ सपना‌ बाढ्नु हाम्रो धर्म हो, हाम्रो पेसा हो। अर्को कुरा, हामी ले कस्ता सपना देख्छौ, समयको माग के हो, देश को आवश्यकता के हो, देश कहाँ छ, हाम्रो देश को क्षमता के हो भन्ने कुराको ख्याल गर्नु पर्छ । ठुला सपना देख्ने अधिकार सबैलाई छ । अझ इच्छा सक्ति हुने र सबैको सोच बदल्ने हो भने कुनै पनि सपना पुरा गर्न हामी सक्षम छौ तर सपना काे कुरा गर्दै जाँदा सपना पूरा गर्न हामीले के गर्यौ भन्ने प्रश्न उठ्छ। हामी एकाबिहानै विस्तरा बाट सुती सुती सरकार लाई गाली गर्छौ, एउटा प्रोफेसर एक घन्टा ढिला गरि क्लास मा जान्छ र भन्छ देश यस्तो , देश उस्तो, यो नेता ले यस्तो गर्यो, यो नेता ले यस्तो विगार्यो, यो नेता ले उस्तो विगार्यो, यो भयन त्यो भयन । एउटा बटुवा आफू संगको फोहोर बाटो मै फाली दिन्छ र केहि पर पुग्दानपुग्दै भन्छ – “क्षया कस्ताे फोहोर शहर” । एउटा भलादमी दिनभर चिया पसल मा बस्छ र भन्छ यो देश मा केहि भयन, अब विदेश जानु पर्यो । हामी नियम मान्दैनौ, कानुन मान्दैनौ । म र मेरो भन्दा पर सोच्नै सक्दैनौ । जे मा पनि नाताबाद , कृपाबाद भन्दै हिड्छौ। आफ्नो भय सब ठीक, नभय सब खत्तम, आफ्नो मान्छे, आफ्नो पार्टी ले गरेको सब ठीक, अरु मान्छे, अरु को पार्टी ले गरे को सब बेठिक। साच्चै भन्दा आफ्नो घरको फोहोर पनि बसाई छ हामी लाई। हामी ले सोच्ने, हामी ले देख्ने परिधि नै एकदम सानो छ, मैले सानो मा देखेको भुगोल जस्तै । हामी सपना सधै ठूला देख्छौ तर ठूला सपना पूरा गर्न हाम्रो सोच, हाम्रो विचार लाई हामी कहिल्यै फराकिलो बनाऊदैनौँ । सपना पूरा गर्न कडा मेहनत गर्नु पर्छ, पसिना बगाउनु पर्छ, रात दिन केहि नभनी खटिनु पर्छ अनि पूरा हुन्छं हामी ले देखें का ईन्द्रेणी सपनाहरु । साच्चै मेहनत गर्ने हो भने कुनै पनि सपना असम्भव हुँदैन । सोच बदले देश बदल्न केहि समय लाग्दैन। हामी ले देखे का सपना हरु त झन् कति देश हरु ले वर्षौं अघि पूरा गरेका सपना हुन । सपना बाँडेर मात्र पूरा हुनी भए केहि दुःख नै गर्न पर्थेन । अझ हाम्रो देशको नेतृत्वत झन यसरी सपना बाढी दिन्छ, एउटा जग नै नहाली, एउटा ढुङ्गो नउठाई , एउटा अध्ययन सम्म पनि नगरि भनिदिन्छ, यस्तो बन्छ उस्तो बन्छ, हामी यो बनाऊछौ त्यो बनाऊछौ।। सिन्कै नभाचि हामी देश बनाऊछौ, सूती सुती हामि सपना पूरा गर्दिन्छौ । यि र यस्तै कुरा हरु ले गर्दा मानिसहरूमा आजकल सरकारप्रति को विश्वास भरोसा केहिपनि छैन । देशमा सबैभन्दा बढि‌ विश्वास गर्नपर्नी सरकार सँग नै यसरी भरोसा टुट्यो भने हामी कहाँ पुग्छौ? एकपटक सोच्नु पर्छ होला। यही कारणले आजकाल सरकार ले केहि राम्रा कुरा गर्न खोज्दा पनि आलोचित हुन परेको छ ।यहाँ सम्म कि सरकार ले अब देश नै बेचेर खान्छ भन्न सम्म पछी पर्दैनन जनता । हाम्रो देश र नेतृत्व प्रति को विश्वास यो बिन्दु मा आइपुग्नु भने को एउटा विकराल रूप हो । सुन्दा सामान्य लाग्ने यो कुरा गहिराई बाट हेर्ने हो भने एकदम गम्भीर छ। सपना मात्र कहाँ हो र हामी सपना भन्दा पनि धेरै झुट को खेती गरिदिन्छौ । नेता हरु जनता लाई बुम्राह मा राखी दिन्छन । बिहान उठेपछी बेलुका नसुतिन्जेल सम्म हामी झुट नै सुनी रहन्छौ । नेता कै सिको गर्दै आजकाल सबै जना झुटकै खेती गर्छन, यहाँ सम्म कि आजकल पत्रकार हरु झुटलाई नै समाचार बनाई दिन्छन । डर लाग्छ कुन दिन बाट शिक्षक ले झुट पढाउन थाल्छन र हाम्रो दिनचर्या नै झुट मा बित्न थाल्छ । फेरी जब समाज मा गलत प्रवित्ती हाबि हुन थाल्छ तब इमान्दार मानिस हरु पनि बिग्रन केहि बेर लाग्दैन । गलत बाटो समायकाहरु जब माथि पुग्छन, जब खराब प्रवित्ति ले जरा गाड्न थाल्छ तब असल मानीसहरु पनि त्यही बाटो मा लाग्छन । एउटा ले नियम मिच्यो भने सबै ले मिच्न थाल्छन । अहिले यसैको सिकार भय जस्तो लाग्छ तुलनात्मक रूप मा असल लाग्ने नेता हरु पनि र हाम्रो समाज‌ पनि, या भनौँ असल चरित्रहरु पनि खराब हरु को भीड मा हराएका छन । हाम्रो राजनीतिक चेतना, सामाजिक चेतना, राजनीति प्रति समाज को दृष्टिकोण, राजनितिक कर्मी हरु को सोच, तिनी हरु लाइ समाज ले राख्ने भरोसा , कुनै कुरा को पनि सन्तुलन अहिले मिली राखेको छैन र सबै जना अा आफ्नै डम्फू बजाई रहेका छन । सबै लाई आफू नै ठीक लाग्छ, बाँकी सब बकवास । कोही पनि आफू परिवर्तित हुन चाहँदैन र समग्र ‌मा‌ भन्दा‌ सबैलाइ आफ्नो कमजोरी लुकाउने एउटा मिठो बहाना मिलेको छ । भनिदिए भयो देश नै यस्तो छ अनि कहाँ बाट हुन्छ? हो त देश नै यस्तो छ हामी लाई कहाँबाट बसीबसी खाना पुग्नु, देश नै यस्तो छ ।

फेरी पनि गहिरिएर सोच्ने हो भने नहुनि भन्ने केहि हैन । हामि असल प्रवित्ति लाई बढवा दिन थाल्ने, सबै ले आ आफ्नो सोच परिवर्तन गर्ने । देश जुन गति, जुन स्थिती मा भए पनि हामी ले हाम्रो पौरख लाई निरन्तरता दिने । आफ्नो ठाउँबाट सबैले परिवर्तन सोच्ने र त्यो सोच पूरा गर्न लाग्ने, सपना को खेती मात्र हैन सपना पूरा गर्न लागि पर्नि हो भने सबथोक सम्भव छ। पहिला सा साना विग्रेका कुरा सपार्दै लग्ने । सा साना परिवर्तनहरु गर्नी, देशका जनता को आधारभुत आवस्यकता हरु पूरा गर्ने अनि त्यसपछि त जस्ता सपनाहरु पनि पूरा गर्न सक्ने हुन्छौ हामी । नहुनी भनि कूनै कुरा नै रहँदैन । त्यसैले…
सपना देख्ने देखाउने हैन, पूरा गर्ने हो ।
सोच बदलौं , देश आफै बदलिन्छ ।।।

  • कमल ‌पोखरेल(समर‌ यात्री)
    घाचोक, कास्की

579 total views, 2 views today

Share the article